कठमाडौं, २३ बैशाख । बेलायतमा राजा चार्ल्स तृतीयको आज शनिबार राज्याभिषेक हुँदैछ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हो । कार्यक्रमको तयारी पूरा भएको छ । राजा चार्ल्स र रानी कन्सोर्ट वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्छन् ।
वर्षाको सम्भावना भएपनि शाही यात्राको बाटोमा भीड लागेको स्थानीय मिडियाले जनाएका छन् । यसलाई ध्यानमा राख्दै सेन्ट्रल लन्डनमा कडा सुरक्षा व्यवस्था गरिएको छ । उक्त समारोहमा करिब एक सय देशका सरकार प्रमुख सहभागी हुँदैछन् । नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बेलायत पुगिसकेका छन् । तर, राजतन्त्रको विरोध गर्नेहरूले यस अवधिमा विरोध गर्न पनि अपिल गरेका छन् ।
राज्याभिषेक समारोह करिब दुई घण्टासम्म चल्ने र त्यसमा २३ सय पाहुनाको उपस्थिति रहने जनाइएको छ । जसमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी पनि सामेल छन् । जो शुक्रबार अमेरिकाबाट लण्डन आइपुगेका छन् ।
पाँचौँ चरण गद्दी आरोहण
समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण गर्ने छन्। उनलाई आर्चविशप, विशपहरू तथा अधिराज्यका अन्य पीअरहरूले (हाउस अफ लर्ड्सका सदस्य) बोकेर गद्दीमा विराजमान गराउन सक्ने छन्। त्यसपछि पालैपालो राजपरिवारका अन्य सदस्य तथा पीअरहरूले राजाका सामु घुँडा टेकेर उनलाई बफादारीको वचन दिने र उनको दाहिने हात चुम्ने परम्परा छ।
तर यसपालि केवल राजकुमार विलियम मात्र त्यसो गर्ने शाही ड्यूक हुने ठानिएको बीबीसीले उल्लेख गरेको छ ।