एसीसी प्रिमियर कप : कतारलाई ६८ रनले हराउँदै नेपाल बन्यो समूह विजेता
अखबार टुडे
प्रकाशित:
२०८०, १४ बैशाख

काठमाडौं, १४ बैशाख । एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ को विजेता बनेको छ । कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।

नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको कतार २५ ओभर १ बलमा ८९ रन बनाउँदा अलआउट भयो । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयो । नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिए ।

नेपाल ४ खेलमा ७ अंक छ । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । यही समूहबाट ओमान समूह उपविजेता बनेको छ ।समूह ’बी’ बाट यूएई सेमिफाइनल पुगिसकेको छ । अहिले भइरहेको हङकङ र कुवेतबीचको खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्काे टोली बन्नेछ ।

प्रतियोगिताको सेमिफाइनल शनिवार हुनेछ । यस्तै फाइनल सोमवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया