एमाले संसद विघटनको दाउमा छ : माधव नेपाल
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र

काठमाडौं, २९ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधबार सुनसरीको इनरुवामा पत्रकारहरूसँगको भेटमा अध्यक्ष नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘एमाले भित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ । त्यो बाटोमा त हामी जान सक्दैनौँ । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।’ अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए ।

एमालेसँगको एकताको सम्भावनाबारे अध्यक्ष नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि ओलीसँग भने त्यो एकताको सम्भावना नरहेको बताए ।

नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्नेबारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताए । उनले पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया रहेको बताए।

प्रतिक्रिया