डा. स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ-१ मा उपचुनाव लड्ने चर्चा !
अखबार टुडे
प्रकाशित:
२०७९, १६ चैत्र

काठमाडौं, १६ चैत । युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रि स्वतन्त्र पार्टीमा जाने चर्चा सुरु भएको छ । रास्वपाबाट वाग्लेले तनहुँ–१ मा उपचुनाव लड्ने चर्चा सुरू भएको हो ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको बताएका छन् । पार्टीले तनहुँ १ को उम्मेदवारीमा सरप्राइज दिने ढकालको भनाइ छ ।

डा. वाग्ले अहिले तनहुँ १ को वस्तुस्थिति बुझिरहेको बताइएको छ । राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत भएका वाग्ले रास्वपामा जान लागेको चर्चा चलेपछि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उनलाई रोक्न प्रयास थालेका छन् ।

वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरु शेखर कोइराला र डा.पोखरेललाई एसएमएसमार्फत आफू कांग्रेसमा नरहेको सन्देश पठाएका छन् । उनले भविष्यमा यी ४ नेता नेतृत्वमा पुगेमा पुनः सहकार्य हुने सन्देश पठाएको एक नेताले जानकारी दिए ।महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेपनि डा. वाग्ले भने मोबाइल बन्द गरेर सम्पर्कविहीन बसेका छन् ।

वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको चुनाव घोषणापत्र तयारी समितिमा रहेर काम गरेका थिए । उनी त्यतिबेला कांग्रेसबाटै चितवन र काठमाडौंमध्ये एक ठाउँबाट चुनाव लड्ने चाहनामा थिए, तर सभापति शेरबहादुर देउवाले उनलाई प्राथमिकता दिएका थिएनन् ।

प्रतिक्रिया