बैंक र फाइनान्सले घटाए ब्याजदर
अखबार टुडे
प्रकाशित:
२०७९, ३० फाल्गुन

काठमाडौं, ३० फागुन । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले भोलि बुधवारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाले मंगलबार सूचनामार्फत उक्त जानकारी दिएको हो ।

वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । भोलि चैत १ गतेदेखि निक्षेपमा ०.४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए ।

उनले संघ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको बताए । अहिले बैंकहरूले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।

यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ देखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । अहिले बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।

यस्तैगरी संस्थागततर्फ ९ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै विकास बैंकहरूको छाता संगठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएशनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशतसम्म घटाएको छ ।

संघको निर्णयअनुसार विकास बैंकहरूले चैत महिनादेखि एक वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ । त्यस्तै एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११.५० प्रतिशत कायम भएको छ ।

अहिले विकास बैंकहरूले एक वर्षे वा त्योभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।

यसैगरी ब्याजदर घटाएसँगै विकास बैंकहरूले चैतमा एक वर्षे वा त्योभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.६० प्रतिशतदेखि ८.६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।

त्यसैगरी नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशतले घटाएको छ । संघले तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत घटाउने निर्णय गरेको छ । फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२.१० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११.९० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

प्रतिक्रिया