
काठमाडौं, २४ फागुन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
महाशाखाले भोलि बिहीबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा हुने र कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
