गठबन्धन ब्युँताउन चार दल सहमति नजिक, राष्ट्रपतिमा माधवको अडान कायमै
अखबार टुडे
प्रकाशित:
२०७९, १२ फाल्गुन

काठमाडौं, १२ फागनु । मंसिर ४ मा भएको चुनावअघिको गठबन्धन ब्युँताउन चार दल सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी गठबन्धन ब्युँताउन सहमत नजिन पुगेका हुन् ।

यद्यपि, सम्झौता भने भएको छैन । बैठकमा सहभागी एक नेताले भने, ‘आज छलफलमा बसेको दल सँगै जान सहमत भएका छौँ । तर अन्तिम निर्णय भएको छैन ।’

बैठकमा कांग्रेस र अन्य दलले अलग–अलग प्रस्ताव राखेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए । बैठकमा एकीकृत समाजवादीले राष्ट्रपतिमा आफ्नो अडान कायम रखेका छन् । एकीकृत समाजवादीको अडानमा माओवादी केन्द्र र जसपाले समेत साथ दिएका छन् ।

माओवादी, जसपा र एकीकृत समाजवादीले समाजवादी केन्द्र बनाउनेबारे बिहीबार छलफल गरेका थिए । तीन दलले आफूहरूका एजेन्डा एउटै भएकाले स्वार्थ पनि एउटै हुनु पर्ने निष्कर्ष निकालेका थिए ।

बैठकमा कांग्रेस नेताहरूले राष्ट्रपति आफूले पाउनु पर्ने र एक बर्ष प्रधानमन्त्री माधव नेपाललाई बनाउन सकिने प्रस्ताव गरेको बताइएको छ । जसपालाई भने उपराष्ट्रिपति दिने लगभग निश्चित भएको छ ।

चार दलले आ–आफ्ना पार्टीभित्र छलफल गरेर साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको टुंगो लगाउने निर्णय भएको कांग्रेस महामन्त्री गगन थापाले बताए ।

प्रतिक्रिया