विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा सन्दीपको पुनरावेदन
अखबार टुडे
प्रकाशित:
२०७९, ८ फाल्गुन

काठमाडौं, ८ फागुन । क्रिकेट सन्दीप लामिछानेले उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न विदेश जान रोक लगाउने उच्च अदालतको फैसलाविरुद्ध एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।

सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको बताइएको छ । नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ ।

उच्च अदालतले विदेश जान रोक लगाएकाले सन्दीप सो टीममा रहने छैनन् । तर, यदि १२ गते सर्वोच्चको पेसीले उक्त रोक फुकुवा गरिदियो भने सन्दीपलाई यूएई जान बाटो खुल्नेछ । सन्दिपले हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा खेलिरहेको छ ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडिदियो । तर, उनलाई विदेश जान अदालतले रोक लगाएको छ ।

पाटन उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको थियो । उक्त पुनरावेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल झिकाउने आदेश दिएको थियो ।

प्रतिक्रिया