काठमाडौं, १ फागुन । अमेरिकाकी उप–सहायक विदेश मन्त्री अफरिन अख्तर नेपाल आइपुगेकी छन् । दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उप–सहायक विदेशमन्त्री सोमबार दिउँसो काठमाडौं आइपुगेकी हुन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार उनले नेपाल भ्रमणका क्रममा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने जनाएको छ ।
भेटमा उनले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ ।
यसअघि गत साता मात्रै अमेरिकी सहयोग नियोग यूएसएआईडी प्रमुख सामन्था पावरले दुई दिने भ्रमण गरेर फर्किएकी थिइन् । पावरभन्दा ठीक एक साताअघि राजनीतिक मामिलाकी उपमन्त्ती भिक्टोरीया न्यूल्याण्डले नेपाल भ्रमण गरकी थिइन् ।