१०१ थान राहदानी र पुलिस रिपोर्टसहित विमानस्थलबाट दुई जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १३ माघ

काठमाडौं, १३ माघ । प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेका १०१ थान राहदानी र ७९ थान पुलिस रिपोर्टसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई एक्सरे गर्ने क्रममा शङ्कास्पद राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त राहदानीहरु रोमानियामा भिषा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनेर बैदेशिक रोजगार बिभागबाट जारी भएको भिषा स्ट्याम्पिङ निर्णय फाराम पेश गरेको थियो ।

तर अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरु र उनीहरुको साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको बताइएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाही गर्न केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज पठाइएको छ ।

प्रतिक्रिया