
काठमाडौं, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुने भएको छ । बहस नसकिएकाले अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा लामिछानेको तर्फबाट बुधबार ३ जनाले बहस गरेका छन् ।
वरिष्ठ अधिवक्ताहरु सुनिल पोखरेल र सुशील पन्तसहित सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले लामिछानेको पक्षमा बहस गरेका हुन् ।
निवेदकको तर्फबाट ५ जना अधिवक्ताले बहस गरेका थिए । जसमा अधिवक्ताहरु रविराज बसौला, रमन कर्ण, डा सुरेन्द्र भण्डारी, अमृत खरेल, नीतिका ढुंगाना रहेका छन् ।
लामिछाने नेपाली नागरिक रहँदै गर्दा अमेरिकाको नागरिकता लिएको र अमेरिकाको नागरिकता लिने समयमा कुनै निवेदन पेस नगरेको, अमेरिकाको नागरिकता प्राप्त गरिसकेपछि पनि नेपाली नागरिकता त्याग गर्नका लागि निवेदन नदिएको र उताको नागरिकता प्राप्त गरेको कुरा गोप्य राखेको तथा अमेरिकाको नागरिकता त्याग गरेको भने पनि त्यसको निस्सा नबुझाएको कारण उनको नेपाली नागरिकता कायम नरहेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो ।
निष्क्रिय भइसकेको पुरानो नागरिकता राखी पार्टी दर्ता गरेको, प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी निर्वाचित भएको भन्दै ती सबै प्रक्रिया र प्राप्त पद खारेज गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।
