खर्चभार कम गर्न प्रदेशमा मन्त्रालय घटाउँछौं : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ९ माघ

काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खर्चभार कम गर्न प्रदेशहरुमा मन्त्रालयको संख्या घटाउने बताएका छन् ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल लगायतसँको भेटमा प्रधानमन्त्री प्रचण्डले खर्चभार कम गर्न धेरै मन्त्रालय नबाउन आग्रह गरेका हुन् ।

उनले आफ्नै प्रस्तावमा केही प्रदेशमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् ।
‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन् । केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन र गर्दैनौँ पनि । तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ । यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ,’ उनले भने ।

उनले सत्ता साझेदार दलको बैठकमा प्रदेशलाई चुस्त बनाउने र वित्तीय सुशासन कायम गर्ने प्रस्ताव गरेको बताए । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीजी लगायत सबै नेताहरू सहमत भएको उनको भनाइ थियो ।

‘हामीले प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरेका छौँ । सोहीअनुसार केही प्रदेशहरूले मन्त्रालयको संख्या घटाइ पनि सकेका छन्। यसले वित्तीय अनुशासन र सुशासन कायम गर्नेछ, प्रदेशप्रति जनमानसमा देखिएका गुनासोहरू सम्वोधन हुनेछन्’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

प्रतिक्रिया