धरानमा डोजर चल्दा स्थानीय र सुरक्षाकर्मीबीच झडप
अखबार टुडे
प्रकाशित:
२०७९, ८ माघ

धरान, ८ माघ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरमा धरान उपमहानगरपालिकाले आइतबार डोजर चलाएको छ ।

धरान ५ स्थित अँधेरी खोलाको किनारमा जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले बनाएको घरमा उपमहानगरले डोजर चलाएको हो ।

डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप हुँदा केही व्यक्ति सामान्य घाइते भएका छन् भने डोजरको सिसा फुटेको बताइएको छ । यद्यपी ठूलो संख्यामासुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको नगरप्रमुख हर्क साम्पाङले बताएका छन् ।

स्थानीयबासीले मुना चौधरी लिम्बूले लामो समयदेखि भोगचलन गरिरहेको जमिनमा घर बनाएको भन्दै भत्काउन नहुने अडान लिएका थिए । स्थानीयले खोलाको भाग सिमांकन गर्नुपर्ने माग समेत राखेका छन् ।

धरान–५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । उक्त क्षेत्रमा अनधिकृत बसोबास बस्न थालेको र पटकपटक पत्राचार गर्दा पनि अटेर गरेर घर निर्माण गरेकोले भत्काउनुपरेको धरान उपमहानगरले जनाएको छ ।

यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्केका थिए ।

उपमहानगरको टोली घर भत्काउन आएपछि अन्तरिम आदेश माग गर्दै घरधनी मुना चौधरी लिम्बू सुनसरी जिल्ला अदालत पुगेकी थिइन् । तर अदालतले अन्तरिम आदेश दिएन् । अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने भए सोको आधार र कारण खुलाउन १५ दिनको म्याद सहित आदेश जारी गरेको थियो ।

प्रतिक्रिया