
काठमाडौं, ८ माघ । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै निवेदन दिएको छ । कांग्रेसले सांसद सुविधा व्यवस्थापन शाखामा निवेदन दिएको हो ।
संघीय संसद सचिवालयका अनुसार कांग्रेसले प्रमुख विपक्षी दलको नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिन माग गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भन्ने प्रश्न उठिरहेको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अहिलेसम्म प्रमुख प्रतिपक्षी दलको विषयमा केही निर्णय भइ नसकेको बताए ।
नेमकिपाको निवेदन पनि यसअघि नै दर्ता भइसकेको छ । नेमकिपाले सरकारलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै प्रतिपक्षीको मान्यता दिन माग गर्दै आएका छन् ।
संसदको प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पारिश्रमिकको साथमा विशेष भत्ता, बैठक भत्ता, सञ्चार, आवास, फर्निचर, सचिवालय, सुरक्षाकर्मी तथा केही कर्मचारी सुविधा प्राप्त गर्ने संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनमा व्यवस्था छ ।
