
काठमाडौं, ६ माघ । प्रतिनिधिसभाको सभामुखमा नवनिर्वाचित भएपछि देवराज घिमिरे एमालेको पार्टी सदस्यता र सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै घिमिरेले सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘म प्रतिनिधि सभाको समाभुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाह गर्नका लागि नेकपा (एमाले) को पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।’
उनी हाल एमालेको स्थायी कमिटी सदस्य थिए । बिहीबार सभामुख निर्वाचित भएका घिमिरेले शपथ ग्रहणपछि आजैबाट पदभार सम्हाल्दैछन् ।
घिमिरेले लिए शपथ
नवनिर्वाचित सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका घिमिरे प्रतिनिधिसभामा बिहीबार भएको मतविभाजनबाट सभामुख चयन भएका हुन् । २०६२÷६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदहरूको मतविभाजनबाट सभामुख चयन गरिएको हो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस’ भन्ने प्रस्तावलाई मतविभाजनमा लैजाँदा उपस्थित २ सय ६८ सांसदमध्ये १ सय ६७ सांसदले पक्षमा मत दिएका थिए ।
