
काठमाडौं, ४ माघ । प्रधानमन्त्री नियुक्त भएयता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै शब्द बारम्बार दोहो¥याउँदै आएका छन्, ‘यस पटक नराम्रो काम गर्दिन, राम्रो काम मात्र गर्छु ।’
तेस्रो पटकद देशको प्रधानमन्त्री बनेका प्रचण्डले यो पटक आफू सफल हु्ने समेत दावी गर्दैै आएका छन् । उनले भन्दै आएका छन्, ‘यो पटक मैले परीक्षा पास गर्नैपर्छ ।’ उनले समृद्ध नेपाल निर्माणका लागि युवा जाग्नुपर्ने समेत बताउँदै आएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मगलबार मन्त्रिपरिषद विस्तारमा आफ्नो भनाइलाई केही हद भएपनि व्यवहारमा लागू गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको झण्डै महिनादिनपछि प्रचण्डले २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् । उनले आफ्नो मन्त्रिपरिषदमा अधिकांश नयाँ अनुहार र युवा समेटका छन् ।
२३ सदस्यीय मन्त्रिपरिषद्मा १५ जना पहिलोपटक मन्त्री बनेका छन् । प्रचण्डले मंगलवार राप्रपाबाट राजेन्द्र लिङ्देनसहित १२ जना मन्त्री र तीनजना राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै सरकारमा चारजना उपप्रधानमन्त्री पुगेका छन् ।
मन्त्रिमण्डलमा नेकपा एमालेबाट परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामा पदम गिरी र महिला तथा बालबालिकामा भगवती चौधरी र रक्षामा हरि उप्रेती मन्त्री भएका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट सञ्चार, सूचना प्रविधीमा रेखा शर्मा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती मन्त्री भएका छन् ।
राप्रपाबाट ऊर्जा, जलस्रोत तथा सिंचाइमा लिङदेन, सहरी विकासमा विक्रम पाण्डे र कानुन, न्याय तथा संसदीय मामिलामा ध्रुवबहादुर प्रधान मन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा तथा विज्ञान प्रविधिमा शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल मन्त्री बनेका छन् ।
स्वतन्त्र पार्टी डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री, राप्रपाबाट दीपक सिंह ऊर्जा राज्यमन्त्री र माओवादीबाट सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरूले मङ्गलवारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मङ्गलवार शपथ लिएका अधिकांश पहिलोपटक मन्त्री बनेका हुन् । एमालेबाट मन्त्री बनेकी चौधरी, माओवादीकी शर्मा र राप्रपाका पाण्डे बाहेक सबै मन्त्रिपरिषद्मा नयाँ अनुहार हुन् ।
यसअघि नेकपा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात र रास्वपाबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री नियुक्त भएका थिए । लामिछाने पनि पहिलो पटकमन्त्री बनेका हुन् ।
यसअघि मन्त्री बने तापनि जिम्मेवारी नतोकिएका ज्वालाकुमारी साहले कृषि तथा पशुपंछी विकास, दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति र राजेन्द्र कुमार राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र जनमत पार्टीबाट अब्दुल खानले खानेपानी मन्त्रालय पाएका छन् ।
यसअघि नियुक्त भएका मन्त्रीमध्ये राई र खान पहिलो पटक मन्त्री बनेका थिए । प्रधानमन्त्रीले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय आफैसँग राखेका छन् । नेपालको संविधानले २५ जनासम्म मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ ।
