
काठमाडौं, २८ पुस । मन्त्रालयको भागवण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको हो ।
बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ ।
मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री दाहालले हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । ओली र दाहालबीच एक्लाएक्लै छलफलपछि आज गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।
सत्ता गठबन्धनमा मन्त्रालयको संख्या नबढाउने समझदारी भएको बताइएको छ । मन्त्रालयमा एमालेले आठ, माओवादी केन्द्रले ६, राष्ट्रिय स्वतन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन–तीन, जसपाले दुई र जनमत पार्टीले एक मन्त्रालयमा दाबी गरेको बताइएको छ ।
एमालेले रक्षा र परराष्ट्रलगायतका मन्त्रालय, माओवादी केन्द्रले सञ्चार र ऊर्जा मन्त्रालय, रास्वपाले श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालय, जनमत पार्टीले उद्योग मन्त्रालय पाउनुपर्ने दाबी गरेको बताइएको छ ।
