
विराटनगर, २५ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा आलोपालोको प्रतिबद्धता नआएसम्म सरकारमा नजाने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ ।
सोमबार बसेको प्रदेश १ माओवादी संसदीय दलको बैठकले नेकपा एमालेका नेता हिक्मत कार्कीको सरकारमा तत्काल नजाने निर्णय गरेको हो ।
माओवादी सांसद गणेश उप्रेतीले भने, ‘मुख्यमन्त्रीमा आलोपालोको प्रतिबद्धता नभएसम्म हामी सरकारमा जाँदैनौं । आलोपालोका लागि सहमति गर्न केन्द्रीय केन्द्रीय नेतृत्वलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।’
यसअघि एमाले र माओवादीका प्रदेशस्तरीय नेताहरुले प्रदेश १ सरकार आलोपालोका आधारमा नेतृत्व गर्ने सहमति भएको थियो । प्रदेशमा पहिलो कार्यकाल एमाले र दोस्रो कार्यकाल माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखकोमा जानु अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पनि गठबन्धन ५ वर्ष कायम हुने बताउँदै आधा समयपछि मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तन हुने बताएका थिए ।
तर, आइतबार साझ केन्द्रमा शीर्ष नेताहरुबीच भएको सहमतिमा प्रदेश १ मा पाँच वर्ष नै एमाले नेतृत्वको सरकार रहने सहमति भएको छ । केन्द्रमा भएको उक्त निर्णयपछि माओवादी प्रदेश १ सरकारमा सहभागी नहुने भएको हो ।
एमालेका तर्फबाट हिजै प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । कार्कीलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ । कार्कीको शपथ लगत्तै सानो आकारको मन्त्रिपरिषद् आजै विस्तार गर्दैछन् ।
