परमादेशी गठबन्धन ढाल्नु एमालेको सफलता हो : अध्यक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०७९, २४ पुष

धुलिखेल, २४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनेको परमादेशी गठबन्धनलाई ढाल्नु पार्टीको सफलता भएको बताएका छन् ।

आइतबार धुलिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको दाबी गरेका हुन् ।

ओलीले भने, ‘हामीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउँछौं भनेर चुनावमै भनेकै थियौं । त्यसलाई निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौं ।’

अध्यक्ष ओलीले देशी–विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको बताए ।

ओलीले एमालेलाई सिध्यायौं भनेर दंग परे पनि एमाले भनेको रक्तबीज भएकाले यो अझ मजबुत हुने बताए । कांग्रेसले गठबन्धनको बल र बुथ कब्जा गरेर केही सीट एमालेभन्दा बढी जिते पनि एमालेलाई जनताले लोकप्रिय मतमा पहिलो बनाएको ओलीको भनाइ थियो ।

प्रतिक्रिया