सत्ता गुमेपछि विश्वप्रकाशको टिप्पणी: कांग्रेस एम्बाप्पे भएपनि कप अर्कैले लग्यो
अखबार टुडे
प्रकाशित:
२०७९, ११ पुष

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसको हातबाट अन्तिम समयमा सरकार खोसिएपछि महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु ‘एम्बाप्पे’ भएको टिप्पणी गरेका छन् ।

पोखरा साहित्य सम्मेलनमा शर्माले आफूहरु ‘एम्बाप्पे’ भएपनि कप अर्कैले लिएको अवस्था भएको टिप्पणी गरेका हुन् ।

महामन्त्री शर्माले पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलसँग तुलना गर्दै भने, ‘ गएको मंसिर ४ को निर्वाचनमा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो । अस्ती विश्वकपमा सबैभन्दा बढी गोल एम्बाप्पेले गरे । गोल्डेन बुट पनि जित्यो । तर कप चै अर्कैले लग्यो ।’

उनले फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक गोल हानेजस्तै कांग्रेसले मंसिर ४ को चुनावमा धेरै सिट जितेर उपाधि गुमाउनु परेको टिप्पणी गरेका हुन् ।

उनले ५ वर्षपछि च्याम्पियन बन्ने भन्दै कार्यकर्तालाई चिन्ता नलिन आग्रह गरिरहेको बताए । अहिलेका च्याम्पियन देखिएकालाई ५ वर्षपछि डिफेन्डिङ च्याम्पियनमा सीमित राख्न आफूहरु लाग्ने शर्माले उल्लेख गरे ।

उनले ‘अहिले जे भएको छ, ठिकै भएको छ’ का रुपमा बुझ्न सकिने उल्लेख गरे । उनले भने, ‘नेपाली कांग्रेसका लागि टर्निङ प्वाइन्ट हो । जे भएको छ, ठिकै भएको छ । यो अलि समयपछि बुझिन्छ। शुभकामना दिइरहँदा गहनातापूर्वक विश्लेषण गरौं ।’

प्रतिक्रिया