प्रचण्डलाई नेम्वाङले भने- ‘तपाईं प्रधानमन्त्री बन्नुहोस्, एमाले राष्ट्रपति मान्न तयार छ’
अखबार टुडे
प्रकाशित:
२०७९, ५ पुष

काठमाडौं, ५ पुस । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा माओवादी केन्द«का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बन्न अनौपचारिक रुपमा प्रस्ताव गरेका छन् ।

मंगलबार खुमलटार पुगेर उपाध्यक्ष नेम्वाङले गठबन्धन छाडेर आएपछि एमाले माओवादीसँग छलफल र सहकार्य गर्न तयार रहेको बताउदै प्रचण्डलाई सो प्रस्ताव गरेका हुन् ।

दुई नेताबीचको संवादलाई उद्दृत गर्दै एक नेताले भने, ‘गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्न माओवादी केन्द्र तयार होस् । एमाले तपाईं(प्रचण्ड)लाई प्रधानमन्त्री मान्न तयार छ । तपाईं प्रधानमन्त्री बन्नुहोस्, एमाले राष्ट्रपतिमा मान्न तयार छ । बाँकी पदहरु एमाले–माओवादीका शीर्ष नेता बसेर सहमतिमा बाँडफाड गरौंला ।’

नेम्वाङले प्रचण्डलाई नयाँ सत्ता समीकरण र सरकारमा अहिले एकीकृत समाजवादीलाई सहभागी नगराउने प्रस्ताव गरेका छन् । नेम्वाङले प्रचण्डसँग भने ‘अहिले नेकपा एकीकृत समाजवादीलाई नयाँ सरकारमा ल्याउन एमाले तयार छैन । एसबिनाको गठबन्धन बनाऔं ।’

यस अगाडि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए । ओली–गुरुङबीचको भेटमा सरकार गठन प्रक्रियामा देखिएका भूराजनीतिक छाया र तीनका सम्भावित परिणामका बारेमा समेत खुलेर छलफल भएको बताइएको छ ।

सत्ता गठबन्धनभित्र शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्रीको दावी गरिरहेका छन् । निर्वाचन अगाडि देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने बचन दिएपनि हाल औपचारिक रुपमा सत्ता समीकरण र भावी प्रधानमन्त्रीको बारेमा सत्ता गठबन्धनमा छलफल नभएपछि एमाले गठबन्धनलाई टुटाएर नयाँ समीकरण बनाउन प्रयासरत रहेको छ ।

प्रतिक्रिया