मेस्सीको कीर्तिमान नै कीर्तिमान
अखबार टुडे
प्रकाशित:
२०७९, ४ पुष

काठमाडौं, ४ पुस । आइतबार कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को २२ औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्यो । लुसेस आइकोनिक स्टेडियममा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको ट्रफी उचाले ।

समग्रमा अर्जेन्टिनाले जितेको यो तेस्रो विश्वकप उपाधि हो भने लिओनल मेसीले पाँचौ पटक विश्वकप खेल्दा पहिलो पटक ट्रफी उचाल्ने अवसर पाए । क्लब फुटबल सबैखाले उपाधि र व्यक्तिगत अवार्ड जितिसकेका मेस्सीले यो विश्वकपमार्फत थुप्रै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

विश्वकप फुटबलमा मेस्सीले बनाएका कीर्तिमानहरू:
१, सर्वाधिक खेल- मेस्सीले विश्वकपमा सर्वाधिक २६ खेल खेलेर नयाँ कीर्तिमान बनाएका छन् । कतारमा ७ खेल खेल्दै उनले सर्वाधिक २५ खेल खेलेका जर्मनीका लोथार माथाउसको कीर्तिमान तोडेका हुन् ।

२, दुई पटक विश्वकप गोल्डेन बल- मेस्सी विश्वकप इतिहासमा दुई पटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि सन् २०१४ मा फाइनल पुग्दा पनि मेसीले गोल्डेन बल जितेका थिए । अर्जेन्टिनालाई च्याम्पियन बनाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । कतारमा मेस्सीले दोस्रो पटक गोल्डेन बल जितेका हुन् ।

३, पाँच फरक विश्वकपमा असिस्ट- मेसी पाँच फरक विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो र एक मात्र खेलाडी हुन् । उनले सन् २००६ देखि २०२२ सम्म खेलेका पाँच वटै विश्वकपमा असिस्ट गरेका छन् ।

४, विश्वकपको हरेक चरणमा गोल गर्ने पहिलो खेलाडी- मेस्सी समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनलमा र फाइनलमा गोल गर्ने एक्लो खेलाडी बनेका छन् । कतारमा मेस्सीले खेलेका ७ मध्ये ६ खेलमा गोल गरे ।

५, विश्वकपमा सर्वाधिक खेल जित- मेस्सीले विश्वकपमा सर्वाधिक १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानसँग पनि बराबरी गरेका छन् ।

६, कप्तानको रुपमा धेरै खेल- मेसीले विश्वकपमा कप्तानको रुपमा सर्वाधिक १९ खेल खेलेका छन् । उनीपछि मेक्सिकोमा राफा मार्क्वेजले १७ र अर्जेन्टिनाका डिएगो म्याराडोनाले १६ खेलमा विश्वकपमा कप्तानी गरेका छन् ।

७, विश्वकपमा सर्वाधिक मिनेट खेल्ने खेलाडी- मेस्सीले विश्वकपमा सर्वाधिक २ हजार ३१४ मिनेट खेलेका छन् । उनले इटलीका पाउलो माल्दिनीको नाममा रहेको २ हजार २१७ मिनेट खेल्ने कीर्तिमान तोडेका हुन् । फ्रान्सविरुद्ध फाइनलमा पुरा समय मैदानमा बिताएका थिए ।

८, सर्वाधिक विश्वकप खेल्ने खेलाडी- मेसी सर्वाधिक ५ पटक विश्वकप खेल्ने ६ खेलाडीमध्ये एक हुन् । मेसीसँगै मेक्सिकोका एन्टोनिओ कार्भाजल, जर्मनीका लोथार म्याथाउस, मेक्सिकोकै राफा मार्क्वेज र आन्द्रेज गुअर्डाडो तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ५ विश्वकप खेलेका छन् ।

९, नकआउट चरणमा सर्वाधिक असिस्ट- मेसीले नकआउट चरणमा सर्वाधिक असिस्ट गर्ने पेलेको कीर्तिमान बराबरी गरेका छन् । दुवैले समान ६ असिस्ट गरेका छन् ।

१०, अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता- मेसी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बने । उनले विश्वकपमा १३ गोल गरेका छन् । मेसीले २००६ को विश्वकपमा १ गोल गरेका थिए भने २०१४ मा चार र २०१८ मा १ गोल नै गरेका थिए । २०१० मा भने गोल गर्न सकेनन् । यस पटक उनले विश्वकपमा ७ गोल गरे । मेसीले गाब्रीएल बाटिस्टुटालाई पछि पारेका हुन् । बाटिस्टुटाले १० गोल गरेका छन् ।

११, आफ्नो हरेक दशक उमेरमा विश्वकपमा गोल- मेसीले आफ्नो हरेक दशकमा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । उनले टीनएज, ट्वेन्टिज र थर्ट्टिटजमा गोल गरे । पेलेले भने केही महिनाले यो अवसर गुमाएका थिए ।

१२, पहिलो र अन्तिम गोलबीचको अवधि- मेसीले विश्वकपमा पहिलो र अन्तिम गोल गर्दाको समय अवधि सबैभन्दा धेरै छ । मेसीको पहिलो र अन्तिम गोलको समयअवधि १६ वर्ष १८४ दिन छ । त्यसपछि रहेका क्रिस्टियानो रोनाल्डोको पहिलो र अन्तिम गोलको अवधि १६ वर्ष १६० दिन छ ।

१३, सर्वाधिक प्लेअर अफ दि म्याच- मेसी विश्वकपमा सर्वाधिक ११ पटक म्यान अफ दि म्याच घोषित भएका छन् । उनी कतार विश्वकपमा खेलेका ७ मध्ये ५ खेलमा प्लेअर अफ दी म्याच भए ।

मेसीले एकै विश्वकपमा सर्वाधिक प्लेअर अफ दी म्याच हुने कीर्तिमानसमेत बनाए । यसअघि सन् २०१० मा नेदरल्याण्ड्सका वेस्ले इनाइडर र २०१४ मा मेसीले नै चार पटक प्लेअर अफ दि म्याच अवार्ड जितेका थिए ।

३५ वर्षीय मेस्सीले यसअघि क्लब फुटबलमा ११ पटक घरेलु लिग, चारपटक च्याम्पियन्स लिग र तीनपटक फिफा क्लब विश्वकप जितेका थिए । सन् २००९ देखि २०१२ सम्म लगातार चार वर्ष उनले फिफा वर्ष फुटबलर अवार्ड जिते । उनी लगातार सर्वाधिक यो अवार्ड हात पार्ने खेलाडी हुन् । ६ पटक युरोपियन गोल्डेन बुट प्राप्त गरेका मेस्सी अर्जेन्टिनाका १४ पटकका वर्ष फुटबलर पनि हुन् ।

विश्वकपको व्यक्तिगत विधामा अर्जेन्टिनाको वर्चश्व
विश्वकपको व्यक्तिगत विधामा अर्जेन्टिनी खेलाडीको वर्चश्व रहेको छ । कतारमा सम्पन्न विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका मेस्सीले गोल्डेन बल जिते । प्रतियोगिताभर सात गोल गरे । यस्तै उनले तीन वटा गोलका लागि सहयोग गरेका थिए ।

यता प्रतियोगिताको सर्वाधिक गोलकर्ता फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट जिते । उनले सात खेलमा ८ गोल र दुई असिस्ट गरेका थिए । २३ वर्षीय एम्बाप्पे कतार विश्वकपमा ह्याट्रिक गर्ने दोस्रो खेलाडि बने । यसअघि पोर्चुगलका खेलाडिले पहिलो ह्याट्रिक बनाएका थिए ।

यस्तै अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ जितेका छन् । उनले तीन क्लिन सिट राखेका थिए भने दोहामा सबै खेलका सबै मिनेट खेलेका थिए ।

यस्तै, अर्जेन्टिनाकै इन्जो फर्नान्डेज प्रतियोगिताका उदयीमान युवा खेलाडी चुनिएका छन् । उनले समूह चरणमा मेक्सिकोविरूद्ध गोल गरेका थिए । यस्तै फिफा फेयर प्लेको अवार्ड इंग्ल्यान्डले जितेको छ ।

प्रतिक्रिया