
दोहा, ४ पुस । लियोनल मेस्सी निर्विवाद सर्वकालीन महान् फुटबलर बनेका छन् । विश्वकप फुटबलको उपाधि जितेसँगै उनी सर्वकालीन महान् फुटबलर हुन् की होइनन् भन्ने विवाद अन्त्य भएको हो ।
मेस्सीले ७ पटक फिफा वर्ष खेलाडी अवार्ड जितेपनि विश्वकप उपाधि हात नपारेकाले पेले र म्याराडोनासँग तुलना गर्न नहुने तर्क रहँदै आएको थियो । फिफा विश्वकपको आधिकारिक फेसबुक पेजमा पनि सर्वकालीन महान् खेलाडी विवाद समाधान भएको उल्लेख गरेको छ ।
मेस्सीले क्लब फुटबलका सबै उपाधि र व्यक्तिगत अवार्ड जितेपनि विश्व विजेता बन्न सकेका थिएनन् । मेस्सीले सन् २००५ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।
सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्दा मेस्सी टोलीको प्रमुख सदस्य थिए। ओलम्पिक फुटबलमा यू–२३ राष्ट्रिय टोली सहभागी हुने भएकाले त्यसले मेस्सी महानताको बहसमा खासै अर्थ राखेको थिएन ।
सन् २०१४ मा मेस्सीको कप्तानीमा अर्जेन्टिना विश्वकप फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएको थियो । लगातार दुई वर्ष तीन ठुला प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएपछि मेस्सीले सन् २०१६ मा सन्न्यासको घोषणा गरेका थिए ।
आफ्नो भाग्यमा सिनियर अन्तर्राष्ट्रिय उपाधि लेखिएको रहेनछ भन्दै रुँदै सन्न्यास लिएका मेस्सीले चौतर्फी दबाबपछि सन् २०१७ मा फेरी अर्जेन्टिना टोलीका लागि उपलब्ध हुने निर्णय गरेका थिए ।
गत वर्ष ब्राजिलमा आयोजित कोपा अमेरिका जितेर उनले अर्जेन्टिनाका लागि सिनियर अन्तर्राष्ट्रिय उपाधि जित्ने धोको पुरा गरेका थिए । अर्जेन्टिनाले त्यो २८ वर्षपछि जितेको पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि थियो । तर पनि विश्वकप जित्न नसकेको भनेर उनीमाथि लगातार प्रश्न उठिरहेको थियो ।
तर यसपटक अर्जेन्टिनाले मेस्सीको कप्तानीमा ३६ वर्षपछि विश्वकप जितेको छ । अर्जेन्टिनाले साबिक विजेता फ्रान्सलाई टाईब्रेकरमा हराएको हो । अन्तिम पटक अर्जेन्टिनालाई यस्तो सफलता डिएगो म्याराडोनाले दिलाएका थिए ।
यसरी फिफा विश्वकप कतार २०२२ को उपाधि दिलाउँदै निर्विवाद सर्वकालीन महान् फुटबलर बनेका मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने बताएका छन् । फाइनलखेलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।
उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले भने, ‘यो कप हेर्नुहोस् कति सुन्दर छ । यसका लागि हामीले निकै मिहिनेत गरेका छौं । म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु । म राष्ट्रिय टोलीबाट बिदा लिने छैन । म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु ।’ उनले आफूले चाहेको सबै कुरा पाएको र योभन्दा बढी भगवानसँग माग्न नसक्ने बताए ।
यसअघि राष्ट्रिय टोलीबाट उपाधि नजित्दासम्म मेस्सी र रोनाल्डोबीच को सर्वोत्कृष्ट खेलाडी भन्ने विवाद रहँदै आएको थियो । रोनाल्डोले पाँच पटक फिफा वर्ष खेलाडी अवार्ड जितेका छन् भने सन् २०१६ मा युरो कप पनि जितेका छन् । रोनाल्डो पनि सिनियर अन्तर्राष्ट्रिय फुटबल र युरोपियन च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । तर उनको कप्तानीमा पोर्चुगलले विश्वकपको उपाधि भने जितेको छैन ।
