
काठमाडौं, ३ पुस । पछिल्लो १० वर्षमा महिलाहरु बढी रिसाहा हुँदै गएको देखाएको एक अध्ययनले देखाएको छ ।
विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले पहिलो पटक सन् २०१२ मा पुरुषभन्दा महिलाहरु बढी रिसाहा हुने क्रम देखिएकोमा अहिलेसम्म आइपुग्दा त्यो निकै उकालो लागेको निष्कर्ष निकालेको हो ।
महिलाहरु रिसाहा हुने क्रम कोरोना महामारीले झनै बढाएको बीबीसीेले जनाएको छ । एक सय ५० वटा देशका एक लाख २० हजार प्रतिनिधि महिलाहरुमा गरिएको अध्ययनले क्रोध, नैराश्य, तनाव अनि चिन्ता पुरुषको तुलनामा निरन्तर रूपमा बढी रहेको देखिएको छ ।
महिलाहरु बढी रिसाहा बन्नुको मुख्य कारण आम्दानीमा महिलाहरुको संलग्नता बढेसँगै बाहिरिरुपमा स्वतन्त्रता बढेको तर घरभित्र परम्परागत स्वरुप रहनु देखिएको छ ।
अध्ययन टोलीले एउटा उदाहरण दिँदै लेखेको छ ‘बेलुकीपख सहरमा पुरुषहरु आराम गरेर चियापसलमा चिया पिउँदै गरेको देखिन्छ भने महिलाहरु हातमा तरकारीको झोला बोकेर कार्यालयबाट फर्किरहेको देखिन्छ । यसमा महिलाहरु कमाउन सहभागी भए पनि पुरुषहरु घरको काममा सारथी नबन्दा महिलामा क्रोध थपेको छ ।’
केही महिलाहरुले यस अघि पनि रिस उठ्ने गरेको तर त्यसबेला व्यक्त गर्ने वातावरण नभएको र अहिले केही स्वतन्त्रतासँगै रिस व्यक्त गर्न पाइएको पनि बताएका छन् ।
