इलोन मस्कलाई पछि पार्दै बर्नार्ड अर्नाल्ट बने संसारकै धनी व्यक्ति
अखबार टुडे
प्रकाशित:
२०७९, २२ मंसिर

काठमाडौं, २२ मंसिर (एजेन्सी) । ७३ वर्षीय फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । इलोन मस्कलाई पछि पार्दै उनी संसारकै धनी व्यक्ति बन्न सफल भएका हुन् ।

फोर्ब्सको रियल–टाइम धनाढ्यहरूको सूचीअनुसार मस्क दोस्रो स्थानमा झरेका छ । अर्नाल्ट लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएचका मालिक हुन् ।

फोर्ब्सको रियल टाइम इन्डेक्सका अनुसार यो समाचार तयार पार्दासम्म लागि बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८६.३ बिलियन डलर र ट्विटरका नयाँ मालिक एलोन मस्कको कुल सम्पत्ति १८५.४ बिलियनमा झरेको थियो ।

इलेक्ट्रिक कार कम्पनी टेस्लामा मस्कको सेयरको मूल्यमा तीव्र गिरावट आएको छ । सामाजिक सञ्जाल प्लेटर्फम ट्वीटर ४४ अर्ब डलरमा किनेपछि पनि मस्कको सम्पत्तिमा कमी आएको हो । टेस्ला मालिक मस्क सेप्टेम्बर २०२१ देखि शीर्ष स्थानमा छन् । त्यसपछि मस्क दोस्रो स्थानमा झरेको यो पहिलो पटक हो ।

भारतका गौतम अडानी धनीको वरियतामा तेस्रो स्थानमा छन् । अडानी समूहका प्रमुख गौतम अडानीको कुल सम्पत्ति १३४.८ बिलियन डलर छ । योसँगै अमेजनका संस्थापक जेफ बेजोस चौथो स्थानमा छन्, उनी १११.८ बिलियन डलरको मालिक हुन् ।

भारतको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका धनी अर्बपतिको सूचीमा आठौं स्थानमा छन् । अम्बानीको कुल सम्पत्ति ९३.३ बिलियन डलर छ ।

प्रतिक्रिया