
काठमाडौं, १९ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ को अन्तिम १६ मा बलिया टिम विरुद्ध भिड्दै छन् दुई एसियाली राष्ट्र जापान र दक्षिण कोरिया ।
आज एसियाका दुई फुटबल पावर हाउस राष्ट्र जापानले साविक उपविजेता क्रोएसिया तथा कोरियाले सर्वाधिक ५ पटकको विजेता ब्राजिलको सामाना गर्दैछन् । यी दुवै टोली बलियो राष्ट्रविरुद्ध अप्रत्याशित नतिजा हात पार्ने आशावादी छन् ।
राति पौने ९ बजे अल जानोब स्टेडियममा हुने क्रोएसिया र जापान एक आपसमा मैदान उत्रँदा दबैको लक्ष्य क्वाटरफाइनलमा पुग्ने हुनेछ । जापान समूह चरणको प्रदर्शन दोहो¥याउँदै पहिलो पटक क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा छ ।
जापानले समूह चरणमा पूर्व विजेताहरु जर्मनी र स्पेन विरुद्ध पुनरागमन गर्दै २–१ को जित निकालेको थियो भने कोस्टारिकासँग १–० ले पराजित भए भएका थिए । समूह एपकको उपविजेता क्रोएसिया भने अपराजित टोली हो । क्यानडालाई पराजित गरेको क्रोएसियाले मोरक्को र बेल्जियमसँग बराबरी खेलेको थियो ।
समूह चरणमा जस्तै क्रोएसिया विरुद्ध खेल्दा पनि जापानले सामुराई स्प्रीटका साथ खेल्ने छ । लुका मोडरिचको टिम चार वर्षअघिको नतिजा दोहो¥याउँदै त्यहाँका जनतालाई खुशी बनाउन चाहन्छ ।
यस्तै, ब्राजिल र कोरियाबीचको खेल मध्यराति पौने १ बजे स्टेडियम ९७४ मा हुनेछ । पोर्चुगलमाथि शानदार जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको कोरिया उच्च मनोबलका साथ मैदानमा उत्रने छन् ।
उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले पहिला कोरियालाई पन्छाउनुपर्ने हुन्छ । ब्राजिलका कप्तान थियागो शिल्भाले कोरियालाई कमजोर आँक्न नहुने बताएका छन् । कठिन समूहबाट अन्तिम १६ मा आएको भन्दै कोरिया टिमप्रति सम्मान रहेको शिल्भाले बताएका छन् ।
ब्राजिल सुरुवाती दुई खेलमा सहजै जित निकाल्दै अन्तिम १६ मा पुगेको हो । अर्कोतर्फ कोरिया भने समूह चरणमा समान एक खेलमा जिते र हारे भने एक खेल गोलरहित बराबरी खेल्दै अन्तिम १६ मा छनोट हुने भाग्यमानी टोली बनेको थियो ।
विश्वकपमा ब्राजिल र कोरिया पहिलो पटक भिड्न लागेका हुन् । यसअघि ७ पटक मैत्रीपूर्ण खेलमा भेट हुँदा ब्राजिलले ६ खेल जितेको छ भने कोरियाले एक खेल जितेको थियो । यदी जापान र कोरिया दुवै विजयी भए यी दुई टिमको भेट क्वाटरफाइनलमै हुनेछ ।
सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सनसनी मच्चाउँदै कोरिया सेमिफाइनल नै पुगेको थियो । जापानले पनि त्यसबेला अन्तिम १६ मा पुगेर आफ्नो उत्कृष्ट नतिजा ल्याएको थियो । त्यसपछि जापान दुई पटक नकआउट चरण पुगे पनि अन्तिम १६ बाट माथि उठ्न सकेको छैन ।
