
काठमाडौं, १३ मंसिर । ‘मलाई न्याय चाहियो’ एक युवतीले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेकी छन् ।
मंगलबार बिहान सेतो पहिरन लगाएकी ती युवतीले सर्वोच्चको गेटमा रहेको बोर्डमा रातो रङ छ्यापेर नाराबाजी गरेकी थिइन् ।
त्यसलगत्तै प्रहरीहरुले नियन्त्रणमा लिएपछि, उनले भनिन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’ ।
यसरी न्याय माग्ने युवती हुन् सिरहाकी बिनु यादव । उनी आफ्नो श्रीमानबाट हिंसामा परेको भन्दै न्यायका लागि संघर्षरत छिन् । उनले केही समयअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् ।
बिनुको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन छ । यादवले काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको समेत आरोप लगाएकी छन् ।
सर्वोच्चको गेट अगाडि भेला भएका प्रहरीहरुले जारको पानी खन्याएर रातो रंग सफा गरेका छन् । उनीसँगै अभियानकर्ता जस्मिन ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
