
काठमाडौं, ९ मंसिर । झापामा नेकपा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित हुन् पुगेको छ । २०७४ सालको निर्वाचनमा माओवादीबाट झापामा एक जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
तर यसपटकको निर्वाचनमा माओवादीले उम्मेदवारी दिएका पाँचै उम्मेदवार पराजित हुन पुगे । सत्ता गठबन्धनबाट माओवादी झापामा एक जना प्रतिनिधिसभा र चार जना प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए ।
एमाले परित्याग गरी माओवादीको चुनाव चिह्नबाट उठेका हरिकुमार राणा मगर झापा २ बाट प्रतिनिधिसभा सदस्यमा उठेका थिए । तर उनी तेस्रो स्थानमा रहे । सो क्षेत्रबाट नेकपा एमालेका देवराज घिमिरे विजयी भएका छन् । घिमिरेले २८ हजार ६९७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २६ हजार ४४१ मत ल्याए भने राणाले १३ हजार ९२४ मत मात्र ल्याए ।
यस्तै प्रदेशसभातर्फ झापा १ (२) मा माओवादीका श्यामवीर लिम्बुलाई राप्रपाकी सनबिना बजगाईँले पराजित गरेका छन् । बजगाईँले १३ हजार ६१२ मत ल्याउँदा लिम्बुले १२ हजार २२५ मत ल्याए ।
झापा ३ (२)मा राजवंशी हराउँदै एमालेका छविलाल चुँडाल भारी मतान्तरले विजयी भएका छन् । चुँडाले १९ हजार ८७५ मत ल्याएकोमा राजवंशीले १३ हजार ८३३ मत प्राप्त गरे । २०७४ सालको निर्वाचनमा राजवंशी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै झापा ४ (१) प्रदेश १ का पूर्व कृषि मन्त्री झलकबहादुर मगर दर्लामीलाई एमालेका राधाकृष्ण खनालले पराजित गरेका छन् । खनालले १३ हजार ९५१ मत ल्याँदा दर्लामीले १२ हजार ३७१ मत पाएका छन् । २०७९ सालको निर्वाचनमा दर्लामी त्यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
झापा ५ (२) मा पुरी एमालेका होमबहादुर थापासँग पराजित भएका छन् । थापाले २४ हजार २ मत ल्याएकोमा पुरीले १७ हजार ३१५ मत पाएका छन् । पुरी २०७४ सालको स्थानीय तह निर्वाचन दमकमा पराजित भएका थिए ।
आफ्नै पार्टीको असहयोग र साझेदारी दलले समर्थन नगर्दा पराजयको स्थिति आएको माओवादीका एक जिल्ला नेताले बताए । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि माओवादीले जिल्लामा निराशाजनक परिणाम ल्याएको थियो ।
