झापा पुगेर ओलीले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको उदय ठूलो कुरा होइन’
अखबार टुडे
प्रकाशित:
२०७९, ८ मंसिर

विराटनगर, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय मामुली कुरा भएको बताएका छन् ।

आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे सोधेको प्रश्नमा ओलीले मामुली कुरा भएको प्रतिक्रिया दिएका हुन् ।

संक्षिप्त कुराकानी गर्दै ओलीले भने, ‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो । धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो । देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ । त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन । हा हा हु हु मा त देश चल्दैन । हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन ।’

चुनावमा सत्ताको दुरूपयोग गरिएको ओलीको आरोप थियो । उनले भने, ‘बुथ कब्जा गर्ने, हत्या गर्ने र राज्य संयन्त्रको दुरूपयोग गर्ने प्रवृत्ति देखिए । आतंक फिजाउने प्रवृत्ति देखिए । हेलिकप्टरबाट गुन्डा ओसारेर प्रवृत्ति चिन्ताको विषय हो । सत्ता संरक्षित र सत्ता प्रायोजित गुन्डागर्दी र बुथ क्पाप्चार, हिंसाजस्ता कुराहरू अशोभनीय र निन्दनीय छ ।’ ओली झापा ५ बाट निर्वाचित भएका हुन् । उनी विजयी सभालगायतमा सहभागी हुन आज झापा पुगेका छन् ।

प्रतिक्रिया