
काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ बाट निर्वाचित भएका छन् । नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो मतान्तरले हराउँदै थापाले काठमाडौं–४ बाट ह्याट्रिक जित निकालेका हुन् ।
०७४ मा पनि एमालेका भट्टराई थापासँग नै पराजित भएका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए ।
०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा ३१ वर्षे उमेरमै समानुपातिक सांसद थिए । समानुपातिक सांसद रहेका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले उनी कांग्रेस महामन्त्री छन् ।
यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरेका हुन् ।
योसँगै नेपाली काँग्रेसले प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये अहिलेसम्मको मतगणना अनुसार ४ क्षेत्रमा विजयी भएको छ भने प्रदेशसभामा ३ क्षेत्र जितेको छ । यस्तै नेकपा एमालले प्रतिनिधिसभामा १ सिट जितेको छ । प्रदेशसभा स्वतन्त्र, जनमत पार्टी र हाम्रो नेपाली पार्टीले १/१ क्षेत्र जितेको छ ।
