मतगणना जारी : गठबन्धनलाई बहुमतको संकेत, ५० प्रतिशत सिटमा अगाडि
अखबार टुडे
प्रकाशित:
२०७९, ६ मंसिर

काठमाडौं, ६ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार मंगलबार बिहानसम्म सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि छ ।

मंगलबार बिहानको पछिल्ले तथ्यांकअनुसार १२९ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । त्यसमध्ये ६५ वटामा सत्ता गठबन्धन अगाडि छ भने तीनवटा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । कांग्रेसले मनाङ, मुस्ताङ र काठमाडौं–१ बाट जित हात पारेको हो ।

मनाङबाट टेकबहादुर गुरूङ निर्वाचित भएका छन् । उनले २५७५ मत प्राप्त गरेका छन् भने त्यस्तै मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले ३९९२ मत ल्याएका छन्।

काठमाडौं–१ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । उनले ७१४३ मत पाएका छन् । मतगणना सकिएका यी तीन क्षेत्र घटाएर गणना जारी रहेको क्षेत्रको मात्र हिसाब गर्ने हो भने सत्ता गठबन्धन ५०.४ प्रतिशत सिटमा अगाडि देखिन्छ ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेससँगै माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । कांग्रेससँग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टीलाई यसमा जोडिएको छैन ।

त्यस्तै अहिलेसम्मको मतगणनामा एमाले ३५ सिटमा अग्रस्थानमा छ । यो मतगणना भइरहेको १२९ सिटमध्ये २७.१ प्रतिशत हुन आउँछ । एमालेले पनि ललितपुर–२ मा जित निकालेको छ ।

ललितपुर–२ मा एमालेका प्रेम महर्जनले जितेका छन् । उनले १५०२५ मत पाएर जितेका हुन् । यसपटक निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ६.२ प्रतिशत सिटमा अगाडि छ । स्वतन्त्र पार्टीले ८ सिटमा अग्रता लिइरहेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सिटमा अग्रता कायम गरेको छ ।

मतगणना जारी भएका क्षेत्रमध्ये ४.७ प्रतिशत सिटमा राप्रपा अगाडि छ । अन्य विभिन्न दलहरू ११.६ प्रतिशत सिटमा अगाडि छन् । जारी मतगणनाको रूझान हेर्दा सत्ता गठबन्धनलाई बहुमत ल्याउन सहज देखिएको छ ।

प्रतिक्रिया