
काठमाडौं, २ मंसिर । वीरगन्जबाट १० हजार नक्कली मतपत्र र नगदसहित दुई जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी छन् ।
उनीहरुबाट १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।
करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।
बाराको कलैयाबाट वीरगन्ज आउँदै गरेको बा. प्रदेश १–१०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित ठूलो परिणाममा नक्कली मतपत्र फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए ।
