चुनावलाई उत्सवका रूपमा लिन मतदातासँग प्रधानमन्त्री देउवाको अपिल
अखबार टुडे
प्रकाशित:
२०७९, १ मंसिर

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन् ।

आज एक भिडियो सन्देश जारी गर्दै उनले मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन् ।

‘निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो। जाहाँनिया राणा शासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म मुलुकले राजनीतिक सङ्घर्षको चरण पूरा गरिसकेको छ । अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने छ,’ उनले भने ।

कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक सामाजिक आन्दोलनको नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्दै उनले अब मुलुकलाई समृद्धितर्फ अघि बढाउनु कांग्रेसको जिम्मेवारी भएको बताए ।

विसं २०४६ पछि मुलुकले आर्थिक र सामाजिक विकासमा एक बाटो लिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए । ‘हाम्रा युवा प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दैछन्। उनीहरुको ज्ञानको कदर हुने गरी आगामी दिनमा हामी नयाँ सोचका साथ अघि बढने छौँ । हाम्रा शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त दुरुस्त पार्ने परिपाटीको विकास गर्नेछौँ’, उनले भने ।

सीमान्तकृत समुदायको अधिकार प्राप्तिदेखि पिछडिएको समुदाय र क्षेत्रको उत्थानमा कांग्रेसको सरकारले धेरै महत्वपूर्ण काम गरेको बताउँदै उनले यसलाई अझै परिणाम देखिने गरी अघि बढाइने उल्लेख गरेका छन् । निर्वाचनमा जनताको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गचित्र तय गर्ने उनको भनाइ छ ।

उनले दुई–दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै रहेको उल्लेख गर्दै सहमति र सहकार्यको जगमा गठबन्धनको सरकार गठन भएको र त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन आफूहरु दृढ सङ्कल्प रहेको बताए ।

प्रधानमन्त्री देउवाले निर्वाचनमा उत्साहपूर्वक सहभागी भई प्रत्यक्षतर्फ कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा र समानुपातिकतर्फ कांग्रेसको रुख चिह्नमा अमूल्य मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन् । आफूहरु कुरा होइन काम गर्छौं भन्नेमा विश्वास दिलाउँदै मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन सबैलाई उनले अपिल गरेका छन् ।

प्रतिक्रिया