
चितवन, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई म्याद गुज्रिएको औषधिको संज्ञा दिएका छन् ।
पटक–पटक सरकारमा हुँदा पनि केही गर्न नसकेको भन्दै ओलीले गठबन्धनलाई म्याद गुज्रिएको औषधिको संज्ञा दिएका हुन् ।
आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा ओलीले भने, ‘पटक–पटक सरकारमा हुँदा पनि नेपाली कांग्रेस र माओवादीले केही गर्न सकेन । यिनीहरू म्याद गुज्रिएका औषधि हुन् । कुनै काम गर्नेवाला छैन ।’
ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने बताए । ओलीले भने, ‘कोइराला लोकतान्त्रिक चरित्रको मान्छे हो । राजनीति बुझेको मान्छे हो । नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई जिताउन एमालेले सहयोग गरेको छ ।’
कोइराला कांग्रेसका केन्द्रीय सदस्य थिए । उनले बागी उम्मेदवारी दिएपछि कांग्रेसले ५ वर्षका लागि पार्टीबाट निकालेको छ । चितवन ३ मा एमालेले आफ्नो उम्मेदवारलाई पछि हटाउँदै कोइरालालाई सहयोग गर्ने यसअघि बताएको थियो ।
ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति पनि कटाक्ष गरेका छन् । उनले प्रश्न गर्दै भने, ‘चितवनमा धाकधक्कु लगाएर घर बनाएर बास बस्न गोरखा पुगे प्रचण्ड । चितवनमा आफ्नो घर बनाउने बाहेक के काम गर्नुभयो?’ ।
ओलीले चितवनमा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन २ का प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने र चितवन ३ मा गठबन्धनबाट माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीको चर्को आलोचना गरे ।
उनले भने, ‘मैले सुनेको छु यस क्षेत्रमा अनेकथरी मानिस उठेका छन् । कोही बिमारी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएछन् । कोही टिभीमा समाचार भन्नुपर्ने त्यो छोडर यता आएका छन् । कोही के गर्नुपर्ने, कोही के गर्नुपर्ने ! चिन्नु न जान्नु कता हिँड्या हो थाहा छैन, घण्टी बजाएका छन्, बाटो सोध्या छन् ।’
