
काठमाडौं, २९ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई घाटामा लैजान चलखेल गरेको पाइएको छ ।
प्राधिकरणले नेपाल वायुसेवा निगमको उडान कटौती गरेर भारतीय एयरलाइन्स इन्डिगोको उडान थप गरेको छ । भारतीय उड्डयन प्राधिकरणबाट दिल्ली विमानस्थलमा हप्ताको १४ उडान भर्ने स्वीकृति लिएको निगमलाई प्राधिकरणले १० वटा उडानमा सीमित गराइदिएर प्राइभेट (निजी) विमानको पक्ष पोषण गरेको छ । जसका कारण निगमले एक सातामै ९ करोड ६० लाख रुपैयाँ नोक्सान व्यहोर्नुपरेको छ । भारतीय एयरलायन्स इण्डिगोको उडान भने बढाएर २१ पु¥याएको छ ।
यसमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको स्वार्थ रहेको स्रोतको भनाइ छ । महानिर्देशक अधिकारीको यस कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले समेत संरक्षण गरेको देखिन्छ । महानिर्देशक अधिकारीको उक्त कदममा मन्त्री श्रेष्ठ मौन रहेपछि यस्तो अनुमान गरिएको हो ।
काठमाडौं दिल्ली उड्न ठिक्क परेको जहाजलाई अक्टोबर २३ मा (विन्टर सिजन सुरु हुनुअघि) भैरहवा विमानस्थलबाट उड्नुपर्छ भनेपछि निगमले जवाफमा डिसेम्बरभित्र भैरहवाबाट व्यावसायिक उडान गर्ने पत्र पठाएको थियो । तर, त्यसमा पनि प्राधिकरणले जवाफ नै नदिएको निगम स्रोतको भनाइ छ ।
निगमका एक कर्मचारीका अनुसार निगमका जहाजले हप्तामा १६ सय यात्रुलाई काठमाडौं दिल्ली–उडान अवतरण गर्दै आएको थियो । तर, प्राधिकरणले टिकट विक्री गरिसकेपछि उडानसमेत कटौती गर्दा निगमको नोक्सानी दोब्बर हुने भएको छ ।
टिकट विक्री गरेको रकम फिर्ता गर्नुपर्ने त छदैछ । फ्लाइट क्यान्सिल हुँदा अर्को जहाजको टिकट खरिददेखि खाने बस्ने खर्च निगमले व्यहोर्नुपर्ने हुन्छ ।
कोभिड महामारीपछि तङ्ग्रिन थालेको निगमको ‘हिस्टोरिक स्लट’ अन्तर्राष्ट्रिय उड्डयन आयटाको निर्देशिकाविपरीत कटौती हुँदा काठमाडौं दिल्ली उडानमा निगमले एक महिनामा ३८ करोड ४० लाख रुपैयाँ घाटा व्यहोर्नुपर्छ । आयटाको गाइडलाइन अनुसार निगमले विन्टर र समर सिजनका लागि उडानको एप्लाई गरेको थियो ।
निगमका जहाजले बिहान ८ बजे र दिउँसो १ः४५ मा काठमाडौं दिल्ली उडान भर्दै आएकोमा प्राधिकरणले विन्टर सिजन सुरु हुनअघि निगमको उडान कटौती गरेको हो ।
आयटाको निर्देशिका बमोजिम बनाएको निगमको क्यालेन्डरलाई प्राधिकरणले च्यातच्युत पारेको छ । हिस्टोरिक स्लट विमानको अधिकार हो । आयटाको रुल १.७.२ को जिका अनुसार ‘आफैले गर्दिन नभनेसम्म कसैले पनि सिज गर्न मिल्दैन ।’
यस्तै, निगमको रियाद उडानमा समेत प्राधिकरणले कटौती गरिदिएको छ । निगमले रियादका ६ उडान अनुमति मागेकोमा प्राधिकरणले ४ वटा कटौती गरेर २ वटा उडानमात्रै कायम गरिदिएको छ ।
यस्तै, दोहा, क्वालालाम्पुर र दुबईको ७-७ उडान भर्ने स्वीकृति मागेपनि प्राधिकरणले दुई÷दुई उडान घटाएर पाँच÷पाँच उडान मात्र भर्न पाउने स्वीकृति दिएको छ ।
निगमले ४४५ घण्टा उड्न भनेर एप्लाई गरेकोमा प्राधिकरणले ३२९ घण्टाको मात्रै परमिसन दिएको छ । जसका कारण निगमका जहाजले ११६ घण्टा उड्न नपाएर बस्नुपर्ने भएको छ ।
