
काठमाडौं, २७ कात्तिक (एजेन्सी) । ट्विटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ ।
अमेरिकालगायतका देशहरूबाट कैयन् फर्जी ट्विटर अकाउन्टले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्विट गर्न थालेपछि ट्विटरले शुक्रबारबाटै ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।
मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे । तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हरेक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्न सक्ने बनाएका थिए ।
पैसा तिरेर ट्विटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरूपयोग गर्दै येशु क्राइस्टदेखि अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुससम्मका नक्कली खाताबाट ट्विट गर्न थालियो ।
अमेरिकामा एक जना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्विट गरे ।
यो ट्विटसँगै कम्पनीको सेयर खस्किँदा कम्पनीलाई १ लाख २० हजार करोड घाटा भएको थियो । त्यसपछि कम्पनीले आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्विट गरेको भन्दै सार्वजनिक रूपमा माफी माग्नुप¥यो ।
एउटा कम्पनीको नक्कली ब्लु टिक अकाउन्टसम्म यो कुरा रोकिएन, लडाकु विमान निर्माता लकहिड मार्टिनले पनि नक्कली ब्लु टिक अकाउन्टबाट अमेरिका, इजरायल र साउदी अरेबियालाई हतियार नदिने ट्विट गरेको छ । यो ट्विटका कारण अमेरिकी शेयर बजारमा लकहिड मार्टिनको शेयर पनि ओरालो लागेको छ ।
यस्तै एलोन मस्ककै कम्पनी टेस्ला पनि ८ डलर नक्कली ब्लु टिक खाताको सिकार बनेको छ । टेस्लाको नक्कली ब्लू टिक खाताबाट ट्विट गर्दै टेस्लाले युक्रेनी सेनालाई अत्याधुनिक हतियार र विष्फोटक पदार्थले भरिएका १० हजार गाडी दिने लेखेको थियो ।
ट्विटरले ठूला हस्ती तथा ब्लु टिकवाला ट्विटर अकाउन्टको नामको तल पट्टी अफिसियल लेखिने बताएको थियो । तर, उक्त अफिसियल नामक नयाँ फिचर पनि ट्विटरले केही घण्टामै बन्द गरेको छ ।
यसरी सुरू भएको ७२ घन्टामै नक्कली ब्लु टिक अकाउन्टले ट्विटरमा हंगामा मच्चाएपछि ट्वीटरले अन्ततः ८ डलरको ब्लु टिक प्लान बन्द गरेको छ । यद्यपि एलोन मस्कले यस ८ डलरको ब्लु टिक प्लानलाई समर्थन गर्दै नक्कली अकाउन्टलाई रोक्ने बताएका छन् ।
सेलिब्रेटी र कम्पनीहरूको वास्तविक र नक्कली खाताहरू छुट्याउन सन् २००९ बाट ट्विटरले ब्लु टिक सुरू गरेको थियो ।
