
घोराही, २५ कात्तिक । दाङको घोराही सहरदेखि गाउँसम्म सडकको ट्याक बनाउने काममा व्यस्त छिन्, अनिता थारु । उनी चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदैछिन् ।
पछिल्लो समय भने उनले घोराही उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छन् । उनले १२ कक्षासम्म पढेकी छन्। आर्थिक अवस्था कमजोर हुँदा पढाइलाई निरन्तरता दिन नसकेको उनले बताइन् ।
उनले सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन थालेकी हुन् । निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनको भनाइ छ ।

उनले २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिएर लाइसेन्स पनि लिएकी थिइन् । अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनले बताइन् ।
बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उनको अरुलाई सुझाव छ । निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट सन्तुष्ट रहेको उनले बताइन् ।
‘निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ । धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो होला । पढ्न सकिएन। त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ,’ उनले भनिन् ।
पहिले–पहिले महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उनले बताइन् । ‘अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ’, उनले भनिन् ।
