
काठमाडौं, २४ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा गुल्मी–२ मा रोचक प्रतिस्पर्धा हुने ठानिएको छ । गुल्मी–२ मा एमालेका गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदैछ ।
कुनै बेला विष्टका लागि नै मत माग्न हिड्ेकी झाँक्री अहिले विष्टको प्रतिस्पर्धी बनेकी छन् । पूर्वसहकर्मीबीचको यो प्रतिस्पर्धालाई राजनीतिक विश्लेषकहरुले समेत रोचकरुपमा लिएका छन् ।
यसअघिसम्म गुल्मी–२ लाई एमालेको प्रभाव क्षेत्रका रूपमा हेरिन्थ्यो । २०५६, ०७० र ०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका नेता गोकर्ण विष्ट विजयी भएका थिए । तर, अहिले त्यो अवस्था छैन ।
स्थानीय निर्वाचन २०७९ को वडाध्यक्षको मतका आधारमा गुल्मी २ मा एमाले सबैभन्दा ठूलो पार्टी हो । तर, नतिजा भने यसपल्ट निराशाजनक रह्यो । गुल्मी–२ मा ४३ वडा छन् ।
गत पालिका निर्वाचनमा कांग्रेसले २५, एमालेले १७ र माओवादीले एउटा वडामा जितेका थिए । यो क्षेत्रमा पहिलो शक्ति एमाले देखिए पनि गठबन्धनको मत जोड्दा एमालेभन्दा गठबन्धन अगाडि छ ।
यसपल्टको स्थानीय तह निर्वाचनमा वडाध्यक्षको मत केलाउँदा एमालेले ३१ हजार २५३ मत पाएको छ । कांग्रेसले २९ हजार ८२१ र माओवादी केन्द्रको १ हजार ८४१ मत छ । एकीकृत समाजवादीले भने जम्मा ६५८ मत र राप्रपाले १ सय १ मत प्राप्त गरेका थिए ।
स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले जम्मा ३ वटा वडामा उम्मेदवारी दिएको थियो । एउटामा कांग्रेस र माओवादीको समेत साथ पाउँदा ६२५ प्राप्त ग¥यो भने अरु दुईमा एक्लै लड्दा २२ र ११ मत पाएको देखिन्छ ।
एक्लाएक्लै लड्दा एमाले बलियो देखिएपनि गठबन्धनसँग भने पछि छ । गठबन्धनको ३२ हजार ३ सय २० मत छ भने एमालेको ३१ हजार ५ सय २३ मत छ । यसरी गुल्मी–२ मा अहिले पनि एमालेको बलियो पकट देखिएपनि स्थानीय तहको चुनावमा जितको आधार हेर्ने हो भने झस्कनुपर्ने अवस्था छ ।
यसैबीच नेकपा एमालेका नेता शेषकान्त गौतमले सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गरेका छन् । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य गौतमल झाँक्रीलाई समर्थन गरेर विजयी गराई पठाउन पनि उनले सम्पूर्ण गुल्मेलीहरुलाई आग्रह गरेका छन् । यसले पनि असर पर्ने देखिन्छ ।
