
वासिङ्टन, २४ कात्तिक (एजेन्सी) । मंगलबार भएको मध्यावधि निर्वाचनको परिणामले राष्ट्रपति जो बाइडेनलाई धक्का लाग्ने ठानिएको छ ।
अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) मा बहुमत ल्याउने लगभग निश्चित भएको हो । यसका साथै कतिपय राज्यमा गभर्नरहरू पनि निर्वाचित भएका छन् ।
तल्लो सदनका सबै ४ सय ३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मंगलबार अमेरिकीहरूले मतदान गरेका थिए । तल्लो सदनमा बहुमत ल्याउन २ सय १८ सिट आवश्यक पर्छ । यसअघि वर्तमान राष्ट्रपति बाइडेनको डेमोक्रेटिक दलसँग २ सय २० सिटसहित बहुमत थियो ।
सीबीएस न्युजका अनुसार अन्तिम चुनावी परिणामअनुसार रिपब्लिकन दल २ सय १ सिटसहित अग्रस्थानमा छ । त्यस्तै, डेमोक्रेटिक दल १ सय ८२ स्थानमा विजयी भएको जनाइएको छ । बाँकी सिटमध्ये कुन दलले कति जित्लान् भन्ने यकिन नभइसकेको जनाइएको छ ।
तर विश्लेषकहरूले रिपब्लिकनले तल्लो सदन प्रतिनिधिसभामा बहुमत ल्याउने तर माथिल्लो सदन सिनेटबारे यकिन नभएको जनाएका छन् । डेमोक्रेटिकको भन्दा एक मात्र सिट बढी ल्याए पनि रिपब्लिकन दलका नेता केभिन मक्कार्थी सभामुख चुनिने छन् ।
चुनावी परिणामले जो बाइडेनको राष्ट्रपतीय कार्यकालका लागि भने कुनै असर नपार्ने भए पनि यसले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा असर पुग्न सक्ने आकलन गरिएको छ ।
तर संसद्का कुनै पनि सदनमा बहुमत ल्याएको खण्डमा रिपब्लिकन दलले डेमोक्रेटिकलाई कानुन तथा नीति निर्माणमा अवरुद्ध पार्न सक्छ । रिपब्लिकनका तर्फबाट सन् २०२४ को राष्ट्रपतीय चुनावका मुख्य दाबेदार फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस पुनः एक पटक विजयी भएका छन् ।
माथिल्लो सदन सिनेटमा भने डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ । सिनेटका एक सय सिटमध्ये ३५ मा मात्रै मंगलबार निर्वाचन भएको छ । अहिले सिनेटमा दुवै दलको हाल ५०÷५० सिट छ । तर डेमोक्रेटिक दलबाट उपराष्ट्रपति बनेकी कमला ह्यारिसले सिनेटमा निर्णायक मत दिन पाउँछिन् ।
पछिल्लो चुनावी परिणामअनुसार सिनेटमा ४८ सिटसहित डेमोक्रेटिक अगाडि छ । उसलाई पछ्याइरहेको रिपब्लिकनको ४७ सिट छ । सिनेटमा यी दुई दलबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ । यस पटक सिनेटको दौडमा कुन दल सफल हुन्छन् भन्ने एरिजोना, नेभादा र जोर्जिया राज्यको परिणामले निर्धारण गर्ने देखिएको छ । यी सबै राज्यमा कडा प्रतिस्पर्धा भइरहेकाले यकिन प्रक्षेपण भएको छैन ।
जर्जियामा डेमोक्रेटिकका राफेल वार्नक रिपब्लिकनका हर्सेल वाल्करभन्दा अघि भए पनि उनले ५० प्रतिशत मत नकटाउने भएका छन् । जसका कारण डिसेम्बर ६ मा पुनः चुनाव हुने देखिएको छ ।
अमेरिकी संसद्मा दुई सदन छन् । तल्लो सदनका सदस्यको कार्यकाल २ वर्षको हुन्छ भने सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ । राष्ट्रपतीय निर्वाचित भएको दुई वर्षपछि हुने चुनावलाई मिड–टर्म इलेक्सन (मध्यावधि चुनाव) भनिन्छ ।
डेमोक्रेटिक दलले संसद्मा बहुमत कायम गर्न चुक्ने भएसँगै गर्भपतनको अधिकार, बन्दुक नियन्त्रणको मुद्दा र स्वास्थ्यसम्बन्धी सेवामा असर पुग्ने ठानिएको छ ।
अमेरिकी सर्वोच्च अदालतले गत जुनमा संवैधानिक रूपमा संरक्षण गरिएको गर्भपतनसम्बन्धी अधिकारको अन्त्य गरिसकेको छ । संसद्मा बहुमत ल्याउने दलले अब यसबारे नयाँ कानुन निर्माण गर्नेछ ।
चुनावी मुद्दाका रूपमा डेमोक्रेटिक दलले गर्भपतनमा कानुनी पहुँच कायम राख्ने वाचा गरेको थियो भने रिपब्लिकनले १५ साताभन्दा बढीको गर्भपतनमाथि कानुनी प्रतिबन्ध लगाउने जनाइसकेको छ ।
तर चुनावी परिणामसँगै कतिपय राज्यमा भने यसबारे कडा नियम आउने देखिएको छ । रिपब्लिकनले संसद्मा बहुमत ल्याएको खण्डमा अध्यागमन, धार्मिक अधिकार र हिंसात्मक अपराधसम्बन्धी नियममा थप कडाइ हुन सक्ने देखिएको छ । त्यस्तै, बाइडेन प्रशासनको अध्यागमन नीतिसमेत परिवर्तन गर्ने दाउ रिपब्लिकनको छ ।
चुनावी परिणामले भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को चुनावमार्फत पुनः राष्ट्रपतिमा फर्कने अवस्था केही असहज बनेको देखिएको छ ।
