तान्जानियामा ४३ जना सवार विमान दुर्घटना
अखबार टुडे
प्रकाशित:
२०७९, २० कार्तिक

काठमाडौं, २० कात्तिक । तान्जानियामा प्रिसिजन एअरको एउटा विमान दुर्घटनाग्रस्त भएको छ । आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयास गर्दा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरूले कम्तीमा २६ जना मानिसहरूको उद्धार गरिएको जनाएका छन् । सो विमानमा ४३ जना सवार रहेको बीबीसीले जनाएको छ । उक्त दुर्घटनाबाट भएको क्षतिको यकिन विवरण अझैसम्म नआएको बताइएको छ ।

आर्थिक राजधानी दर ए सलामबाट उक्त विमान उडेको थियो । तान्जानियाका राष्ट्रपतिले शान्त रहन अपिल गरेकी छन् । उद्धारकर्ताहरूलाई स्थानीय माझीहरूले पनि खोजीमा सघाइरहेका छन् ।

बुकोबा विमानस्थलको एउटा धावनमार्गको अन्तिम विन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ । उक्त विमानले आँधी र ठूलो वर्षाको सामना गर्नुपरेको विवरण आएका छन् । प्रिसिजन एअर तान्जानियाको प्रमुख निजी वायुसेवा हो ।

प्रतिक्रिया