काठमाडौं-५ : एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रदीपको प्रतिबद्धता
अखबार टुडे
प्रकाशित:
२०७९, १९ कार्तिक

काठमाडौं, १९ कार्तिक । वरिष्ठ कलाकार नीर शाहले काठमाडौं–५ का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेललाई मतदान गरेर जिताउन मतदातासँग आग्रह गरेका छन् ।

शनिबार विशालनगरमा आयोजित लोकतान्त्रिक बुद्धिजीवी तथा पेसाकर्मी समूहको भेलामा कलाकार शाहले पाँच वर्षअघि गरेको भूल सुधार गर्नुपर्ने भन्दै यसपटक युवा उम्मेदवार पौडेलालाई आफ्नो मत दिएर जिताउन आग्रह गरेका हुन् ।

‘मैले पाँच बर्षअघि पनि लोकतान्त्रिक शक्तिलाई मत दिँऔँ भनेर भनेको थिएँ । अब यसपटक भने भुल नगरौँ,’ उनले भने, ‘अहिले यस क्षेत्रले प्रदीप पौडेललाई उम्मेद्वारको रुपमा पाएको छ । प्रदीप सुन्दर नेपालको परिकल्पनाकार हुन् । संकुचित सामन्ती सोचलाई पराजित गर्न लागि गठबन्धन गरेको हो । वैचारिक सम्मुन्नतिको पक्षमा मतदान गर्नुहोला ।’

सोही अवसरमा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताए । नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने बताए ।

उनले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । एक वर्षभित्र बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने उनको भनाइ छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का जनताको समस्या थाहा पाउन ‘सांसद एप’ निर्माण गर्ने बताउँदै नेता पौडेलले भने, ‘सांसद एपमार्फत् समस्या छिटो थाहा हुने भएकाले तत्काल समाधान गर्न सकिन्छ ।’ सांसद विकास कोषको पैसालाई कहाँ लगानी गर्ने भन्नेबारे नागरिक अगुवा समिति निर्माण गर्ने पौडेलको भनाइ छ ।

प्रतिक्रिया