
- एमपी सुब्बा
काठमाडौं, १८ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनमा शीर्ष दलका चर्चित नेताहरुले समेत टिकट पाएनन् । टिकट नपाउँदा असन्तुष्टि बन्दै पार्टी परित्याग गरेर बागी तथा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । तर, यस्तो पनि भएको छ, जो श्रीमान÷श्रीमाती नै उम्मेदवार बनेका छन् । यो भनेको पार्टी नेतृत्वको हैकमवाद हो ।

पार्टी नेतृत्वमा रहेका जिम्मेवार नेताहरु नै श्रीमतीलाई चेप्ने प्रवृत्तिले गर्दा यो निर्वाचनमा शीर्ष दलहरुले आफ्ना राम्रा नेताहरुसमेत गुमाएका छन् ।
नेपाली कांग्रेसका स्थापित नेताहरुले टिकट नपाएको अवस्थामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा श्रीमान/श्रीमती नै चुनावी मैदानमा छन् । कांग्रेस सभापति देउवा डडेल्धुराबाट चुनाव लड्दैछन् भने उनकी श्रीमती आरजु राणा समानुपातिकतर्फ उम्मेदवार छन् ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाँण पनि श्रीमान/श्रीमती नै चुनाव लड्दैछन् । खाँड रूपन्देही–३ बाट निर्वाचन लड्दैछन् भने उनकी श्रीमती मञ्जु खाँण कांग्रेसको समानुपातिकतर्फ उम्मेदवार छन् ।
यस्तै, अर्को शीर्ष दल नेकपा माओवादी केन्द्रमा पनि यो प्रवृत्ति देखिएको छ । माओवादीका नेता वर्षमान पुन र उनकी श्रीमती आनसरी घर्ती मगर नै चुनावी मैदानमा छन् । वर्षमान रोल्पाबाट र उनकी श्रीमती पूर्वसभामुख ओनसरी काठमाडौं–२ बाट चुनाव लड्दैछन् ।

यस्तै, शिक्षामन्त्रीसमेत रहेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल पनि श्रीमान/श्रीमती नै चुनाव लड्दैछन् । पौडेल बाग्लुङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने उनकी पत्नी बलावती शर्मा प्रतिनिधिसभाकै लागि समानुपातिक तर्फको सूचीमा छिन् ।
यस्तै, नेकपा एमालेका नेता रघुवीर महासेठ र जुलीकुमारी महतो पनि दम्पती नै उम्मेदवार छन् । उनीहरु दुवै जना प्रत्यक्ष निर्वाचन लड्दैछन् । रघुवीर धनुषा–३ र जुली धनुषाकै क्षेत्र नं ४ बाट उम्मेदवार छन् ।

जनता समाजवादी पार्टीमा पनि यो प्रवृत्ति देखिएको छ । जनता समाजवादी पार्टीका अशोक राई सुनसरी–१ बाट चुनाव लड्दैछन् भने उनकी श्रीमती सुशीला श्रेष्ठ समानुपातिकतर्फ उम्मेदवार छिन् ।

त्यसो त नेपालको राजनीतिक दलभित्र हैकमवाद नयाँ होइन । यहाँ आफ्ना आसेपासेदेखि लिएर श्रीमतीसम्मलाई चेप्ने प्रवृत्ति पुरानै हो । त्यो यस पटकको चुनावमा पनि देखिएको छ । तर, यसले पार्टी पंक्तिलाई नोक्सान गरिरहेको छ । यो कुरा पार्टीको शीर्ष तह र नेतृत्वमा बस्नेले मनन गर्न जरुरी छ ।
