
दाङ, १८ कात्तिक । दाङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वलीले विद्यार्थीसँग चुनावी छलफल गरेपछि विवादमा तानिएकी छन् ।
गत कात्तिक १५ गते बबई गाउँपालिका वडा नम्बर १ गंगटेको सरस्वती जनता माविमा वलीले विद्यार्थीहरूसँग छलफल गरेकी थिइन् । चुनावका बेला विद्यार्थीहरूसँग छलफल गरेपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आलोचना भइरहेको छ ।
स्कुलका विद्यार्थीलाई राखेर गरिएको चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उम्मेदवार वलीले विद्यार्थीलाई चुनावी प्रचार सामाग्रीसमेत बाँडेको पनि बताइएको छ ।
एक विद्यार्थीका अनुसार वलीले त्यसक्रममा गीतसमेत गाएर सुनाएकी थिइन् । अन्तिममा उनले ‘एमाले जिन्दावाद, भोट के मा सूर्यमा’ भन्ने नारा समेत लगाएको ती विद्यार्थीले सुनाए । उक्त कार्यक्रममा दाङ ३ (ख) का एमाले उम्मेदवार हुकुमबहादुर बस्नेत पनि उनको साथमै थिए ।
वलीले भने विद्यालयको आग्रहअनुसार आफू गएको दाबी गरेकी छन् । विद्यालयका प्रधानाध्यापक नरेन्द्र साहुले वली र उनका समर्थकले विद्यार्थी भेला गराएर कार्यक्रम गराएको जानकारी आफूले ढिला थाहा पाएको बताए। आफूहरूले विद्यालयका तर्फबाट वलीलगायतलाई नबोलाएको उनले बताए ।
