
काठमाडौँ, ११ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्दनेले चुनाव जिते नेकपा एमालेको कसरी इज्वत बढ्छ ? यो कुरा एमालेका अध्यक्ष केपी ओली शर्मालाई नै थाहा होला । त्यसैले त उनले भने, ‘एमालेको इज्वतका लागि भएपनि राजेन्द्र लिङ्देनलाई जिताउन आवश्यक छ ।’
एमाले अध्यक्ष ओलीले शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनका लागि भोट माग्दै यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ । हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो ।’
ओलीले एमालेले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने दावी गरे । उनले आगामी निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने समेत दावी गरे । ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देनमात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ । जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’
ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बनेपनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने दावी गरे । ओलीले भने, ‘कांग्रेस राष्ट्रिय पार्टी रहने भयो, यसपल्टको हकमा माओवादी पनि राष्ट्रिय पार्टी बन्छ । माधव नेपालहरुले पनि एउटा पार्टी खोलेका छन्, त्यसको कन्तबिजोग हुन्छ, के को राष्ट्रिय पार्टी ?’
