माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र
अखबार टुडे
प्रकाशित:
२०७९, ३ कार्तिक

काठमाडौं, ३ कात्तिक । निर्वाचन आयोगले नेकपा एकीकृत समाजनवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्र लेखेको छ ।

आयोगले रौटहट– १ का उम्मेदवार अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र लेखेको हो ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन छ ।

ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ । तर नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको छ भने स्पष्टीकरणसँगै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आगैह गरेको हो । आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

अध्यक्ष नेपालले रौतहटमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भएपछि बैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने आश्वासन दिएका थिए ।

प्रतिक्रिया