सामाजिक सञ्जालमार्फत हुने चुनावी प्रचारलाई निर्वाचन आयोग कसरी अनुगमन गर्छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, १ कार्तिक

काठमाडौं, १ कातिक । फेसबुकलगायतका शोसल मिडिया प्रचारप्रसारका लागि प्रभावकारी बन्दै गएको अवस्थामा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुले पनि सामाजिक सञ्जाललाई प्रचारको प्रमुख माध्यम बनाउनेमा दुईमत छैन । उम्मेदवारी तय भएसँगै आर्कषक नारासहितका पोस्टर तथा भिडियो क्लिप्सहरु सामाजिक सञ्जालमा देखिन थालेका छन् ।

तर, यसरी सामाजिक सञ्जालमा गरिएका प्रचारप्रसारको पनि निर्वाचन आयोगले अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जालमा हुने निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई मेटामार्फत अनुगमन र नियमन गर्ने जनाएको छ ।

मंगलबार काठमाडौंमा आयोजित ‘मेटा इन्टीग्रिटी समिट’लाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित भएर सामाजिक सञ्जालमा हुने प्रचारप्रसार तथा खर्चलाई मेटामार्फत अनुगमन गरिने जानकारी दिएका हुन् ।

आयोगले सामाजिक सञ्जालबाट हुने असामाजिक, अमर्यादित चरित्र, चिन्तन र क्रियाकलापलाई उपयोगी, आवश्यक र मर्यादित बनाउनका लागि मेटासँग सहकार्य गरिएको उनले स्पष्ट पारे ।

उनले सामाजिक सञ्जालमार्फत निर्वाचनको स्वच्छतालाई प्रभाव पार्न नदिइने पनि उल्लेख गरे । सामाजिक सञ्जालमा निर्वाचन केन्द्रित मिथ्या तथा भ्रमपूर्ण सामग्री प्रशारण हुन नदिनका लागि मेटासँगको सहकार्य गरिएको उल्लेख गर्दै यसलाई आयोगले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोज्यो भन्ने ढंगले नबुझ्न पनि स्पष्ट पारेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा गर्ने खर्चको पनि आयोगले निगरानी तथा अनुगमन गर्ने र सीमा उल्लंघन भएको पाए कारबाही गर्ने बताए । उम्मेदवारहरूले निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएपनि एकातर्फ भएको खर्च अर्कोतर्फ देखाउने गरेको प्रसंग उल्लेख गर्दै आयोगले त्यस्ता कामलाई नियन्त्रण गर्ने उनको भनाइ छ ।

निर्वाचनमा लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कुराहरु सँगसँगै आउन नहुने भन्दै उनले स्वच्छ, स्वतन्त्र, भयरहित र विश्वसनीय रुपमा सम्पन्न गराउने काममा आयोगले सबैको सहयोगको अपेक्षा राखेको बताए ।

प्रतिक्रिया