आर्थिक समृद्धिका लागि भन्दै भारतमा दिइयो दुई महिलाको ‘बलि’
अखबार टुडे
प्रकाशित:
२०७९, २६ आश्विन

काठमाडौं, २६ असोज (एजेन्सी) । भारतको केरलास्थित पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिइएको घटना सार्वजनिक भएको छ ।

भारतीय पत्रिका द हिन्दूका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो ।

यस सम्बन्धमा कोच्ची सिटी प्रहरीले एक दम्पती भगवल सिंह र लैलासँग शफी उर्फ रशिदलाई हिरासतमा लिएको छ र यी तीनजनामाथि भएको सोधपुछको क्रममा प्रहरीले यसबारे चकित पार्ने जानकारी पाएको छ ।

कोच्चि सहरका प्रहरी उपरीक्षक सीएच नागराजूका अनुसार पद्मको हत्या सेप्टेम्बरको अन्तिम साता भएको थियो भने अर्की महिलाको जूनमा हत्या भएको थियो ।

यी तिनै जनाले महिलालाई बर्बर ढङ्गले हत्या गरेर उनीहरुको शवलाई आफ्नै घरमा गाढेको पाइएको प्रहरीले जनाएको छ ।

हालसम्म प्राप्त जानकारीका अनुसार शफी र भगवल सिंह आर्थिक समस्यासँग जुधिरहेका थिए । भगवल सिंहलाई आर्थिक संकटसँग जुध्न मानव बलि दिन सल्लाह दिइयो, जसलाई शफीले प्रोत्साहित गरेका थिए ।

यसपछि शफीले केही पैसाको बदलामा महिलालाई ल्याए । शफीले ती महिलालाई जागिर र आर्थिक फाइदाको प्रलोभनमा पारेका थिए । प्रहरीले अभियुक्तको घरमा गाडिएको शवको डीएनए परीक्षण गरी पीडितको पहिचान पुष्टि गर्नेछ ।

प्रतिक्रिया