
काठमाडौं, २४ असोज । १७ बर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सन्दीपलाई २० असोजमा पक्राउ परे पनि दशैंको बिदाका कारण आज मात्र उनलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको हो । कतारको दोहाबाट बिहीबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए ।
त्यसक्रममा क्रिकेटर लामिछानेलाई न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए । लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेको बताइएको छ । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ ।’
अर्का अभिवक्ता सुधा रिजालले सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’
अधिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई पटक-पटक बलात्कार गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
