टिकट नपाएपछि नेता किरण पौडेलले त्यागे कांग्रेस
अखबार टुडे
प्रकाशित:
२०७९, २३ आश्विन

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका नेता तथा निवर्तमान केन्द्रीय किरण पौडेलले उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।

नेविसंघका पूर्व महामन्त्री समेत रहेका देउवा निकट नेता पौडेलले बागलुङ लगायत देशभरकै सीट बाँडफाँटमा असहमति जनाउँदै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिने घोषणा गरेका हुन् ।

उनी बागलुङ–१ बाट प्रतिनिधिसभा सदस्यको लागि आकांक्षी थिए । तर सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा बाग्लुङ–१ राष्ट्रिय जनमोर्चाको भागमा परेको छ ।

नेता पौडेलले आफूले तीन पटकसम्म संसदीय राजनीतिका लागि प्रयास गर्दासमेत पार्टीले मौका नदिएको आरोप छ ।

पौडेलले भनेका छन्, ‘कांग्रेसले उम्मेदवार सिफारिस र छनौट गर्दा अपनाएको सिद्धान्त, विधि, पद्धति र प्रक्रियाको कुनै पनि मापदण्डमा मेरो नाम अटाउन सकेन । मैले संसदीय राजनीतिको अभ्यास गर्ने स्थान खोजेको र अन्तिम अबस्थामा बाहिरिन पुगेको यो तेश्रो पटक हो । यस पटक न्यायोचित निर्णय आउने आशामा थिएँ, तर आएन । नेबिसंघको राजनीतिक पृष्ठभूमिबाट संलग्न हुँदै कांग्रेस पार्टी संगठनको हितका लागि जीवन समर्पण गरेका म जस्ता साथीहरूलाई तेजोबध गरिएको महसूस भएको छ ।’

उनले आफुले ४४ वर्षसम्म निरन्तर पार्टीमा काम गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया