नयाँ बसपार्कबाट मात्रै दुई दिनमा १५ हजारले काटे दशैंको अग्रिम टिकट
अखबार टुडे
प्रकाशित:
२०७९, ३ आश्विन

काठमाडौं, असोज ३ । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् ।

यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएको नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए ।

जसमध्ये असोज १ गते शनिबार सात हजार र असोज २ गते आइतबार आठ हजार यात्रुले अग्रिम टिकट लिएका छन् ।

सरकारले पश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्युठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर धरान विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारी साधनको पनि अग्रिम टिकट बुकिङ चाँडो खुला गरिने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका काठमाडौँ प्रमुख रमेश खत्रीले जानकारी दिए ।

लामो दूरीमा जाने यात्रुका लागि टिकट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण गर्ने गरिएको छ । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेका छन् ।

प्रतिक्रिया